स्वदेशमा अपराध गरी विदेश भागेका दस जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)सँगको समन्वयमा पक्राउ गरी नेपाल फिर्ता ल्याएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले जानकारी दिनुभयो कि चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी गरिएको थियो। यसमध्ये रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई विभिन्न देशबाट पक्राउ गरी नेपाल ल्याइएको हो।
अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरूद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी गरिएको थियो। तीमध्ये १७ जना रेड नोटिस र तीन जना डिफ्युजन जारी भएका फरार प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो।
काफ्लेले थपे, “इन्टरपोलसँगको समन्वयमा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न नेपाल प्रहरी सदैव सक्रिय छ। अपराध गरेर संसारको जुनसुकै कुनामा लुके पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन हामी प्रतिबद्ध छौं।”
उहाँका अनुसार मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्न, निर्वाध निर्वाचन सम्पन्न गर्न, तथा अपराध अनुसन्धान र नियन्त्रणमा नेपाल प्रहरी सक्रिय रहँदै विभिन्न सुरक्षा रणनीति अवलम्बन गर्दै कार्यरत छ।
फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासका लागि नेपाल प्रहरीको नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) ले अनुरोध गर्दा इन्टरपोल महासचिवालयले नोटिस जारी गर्दै आएको छ।
