काठमाडौँ । आज संघीय संसदअन्तर्गतका दुई वटा महत्वपूर्ण संसदीय समितिको बैठक बस्दैछ । बैठकहरूमा विधायन कार्यान्वयनको अवस्था र समितिको कार्यसम्पादनको समीक्षाजस्ता विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि विस्तृत छलफल हुने बताइएको छ। उक्त प्रतिवेदनमार्फत हालसम्म पारित भएका ऐनहरूको कार्यान्वयन अवस्था, प्रभावकारिता तथा सुधार गर्नुपर्ने पक्षहरूको मूल्याङ्कन गरिएको छ। समितिले सम्बन्धित निकायबाट प्राप्त सुझाव, सरोकारवालाको धारणा तथा कार्यान्वयनमा देखिएका चुनौतीका विषयमा समेत छलफल गर्ने तयारी गरेको छ।
यसैगरी, बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको पछिल्लो दुई वर्षे कामकारबाहीको समीक्षा गरिनेछ। समीक्षाका क्रममा समितिले गरेका निर्णय, निर्देशन, अध्ययन तथा अनुगमनका गतिविधिको मूल्याङ्कन गरिनेछ भने आगामी कार्ययोजनाबारे पनि छलफल हुने जनाइएको छ। संघीयता कार्यान्वयनको अवस्था, केन्द्र–प्रदेश–स्थानीय तहबीचको समन्वय तथा राष्ट्रिय सरोकारसँग जोडिएका समसामयिक विषयहरू पनि छलफलका एजेन्डामा पर्ने सम्भावना रहेको छ।
दुवै समितिका बैठकलाई विधायन कार्यान्वयनको प्रभावकारिता अभिवृद्धि गर्ने तथा संघीय संरचनालाई थप सबल बनाउने दिशामा महत्वपूर्ण रूपमा हेरिएको छ।
