झापाको सीमावर्ती क्षेत्र गौरीगञ्जबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्।
बुधबार दिउँसो गौरीगञ्ज–२ स्थित बाहुनटोलमा आँपगाछीबाट बाहुनटोलतर्फ आउँदै गरेको मे १ ह ५६६७ नम्बरको अटोलाई गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डमा खटिएको टोलीले जाँच गरेको थियो।
जाँचका क्रममा अटोको खुट्टा राख्ने म्याटमुनि लुकाइराखेको अवस्थामा प्लास्टिकसहित ७ ग्राम ५०० मिलिग्राम तथा प्लास्टिकबाहेक ६ ग्राम ९० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषधसहित अटो चालक शिवसताक्षी–२ मनोहरा घर भई हाल दमक–८ बस्ने ३४ वर्षीय दिलकुमार विश्वकर्मा, गौरादह–८ भुँडीसिमल निवासी २७ वर्षीय अमन ताजपुरिया, सुनसरी धरान उपमहानगरपालिका–१६ घर भई हाल दमक–८ बस्ने १९ वर्षीया दिपा परियार र मोरङ बेलबारी–९ घर भई हाल दमक–८ बस्ने १९ वर्षीया पार्वती चौधरी पक्राउ परेका छन्।
उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
