चितवनको भरतपुरमा सवारी दुर्घटनामा परी अटोरिक्सामा सवार एक जनाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन्।
भरतपुर महानगरपालिका–७ प्रेमवस्ती चोकमा आज बिहान करिब ४ बजे गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ह २३८८ नम्बरको अटोरिक्सालाई भित्री सडकबाट आउँदै गरेको बा.प्र. ०१–०२९ च १४१७ नम्बरको गाडीले ठक्कर दिएको थियो।
दुर्घटनामा माडी नगरपालिका–७ निवासी ४४ वर्षीय मिनबहादुर खत्री क्षेत्री गम्भीर घाइते भएका थिए। उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।
अटोरिक्सामा सवार माडी–७ की ७२ वर्षीया हरिकला खत्री, ४५ वर्षीया अम्बिका जि.सी., २२ वर्षीय अमित खत्री क्षेत्री तथा अटोरिक्सा चालक भरतपुर–१२ निवासी ३३ वर्षीय सुर्य रिमाल घाइते भएका छन्। उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
