निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्री तयार गरेको छ। लोकतन्त्र, निर्वाचन प्रक्रिया, समावेशिता, मतदाता नामावली तथा मतदानसम्बन्धी विषयहरू समेटेर आयोगले स्रोत सामग्री तयार पारेको हो।
त्यस्तै, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली तथा राजनीतिक दलसम्बन्धी जानकारी पनि स्रोत सामग्रीमा समावेश गरिएको छ।
आयोगले ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ शीर्षकमा तयार गरिएको सामग्री सबैको पहुँचका लागि आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ। आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार उक्त सामग्रीको आधारमा सरकारी तथा नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था र व्यक्तिहरूले नागरिक शिक्षा कार्यक्रम सञ्चालन गर्न सक्नेछन्।
आयोगले आगामी फागुन १ गतेदेखि मतदाता शिक्षा कार्यक्रमलाई थप प्रभावकारी र तीव्र बनाउने तयारीसमेत गरेको जनाएको छ।
