बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको बाणगंगा नगरपालिका–८ निवासी भट्टराईले प्रहरी अनुसन्धानमा रहेका बैंक कारोबारसम्बन्धी कागजातहरू सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरिएको हो।
प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार गत माघ २६ गते भट्टराईले आफ्नो फेसबुक अकाउन्टमार्फत ती कागजात सार्वजनिक गरेका थिए। त्यसपछि परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा विभिन्न सामग्री पोस्ट गरी घृणा तथा द्वेष फैलाउने र गोपनीयता भङ्ग गर्ने कार्य गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिएका छन्।
यसअघि पनि भट्टराईले सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने गतिविधि गरेको प्रहरीको दाबी छ।
