काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत र रोमानिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पाँच जना बेरोजगार युवायुवतीबाट कुल ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा महोत्तरी जिल्ला सम्सी गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायकमा बस्दै आएका ४१ वर्षीय जटाधर राउतलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार राउतले पीडितहरूलाई लामो समयसम्म विदेश पठाइदिने आश्वासन दिँदै झुक्यानमा राखेका थिए। रकम असुलेपछि उनी पीडितहरूको सम्पर्कबाट टाढा रहेका थिए।
पीडितहरूको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई सूर्यविनायक–२ बाट पक्राउ गरेको हो।
पक्राउ परेका राउतलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।
