पोखरा । कास्कीको पोखरा महानगरपालिका–११, जनजाग्रति टोलबाट प्रहरीले ठूलो परिमाणमा ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले २४.१५ ग्राम खैरो हिरोइन (ब्राउनसुगर) सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा पोखरा–११ का ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका–४ घर भई हाल सोही स्थान बस्दै आएका ४४ वर्षीय विश्वास गुरुङ, तथा पोखरा–३१ मोहरिया बस्ने म्याग्दीका ४१ वर्षीय गंगा पुर्जा रहेका छन्।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, लागू औषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले शंका लागेका व्यक्तिहरूको शरीर तथा कोठा खानतलासी गर्दा उक्त लागू औषध बरामद गरेको जनाएको छ।
प्रहरीले घटनास्थलबाट १ लाख ४२ हजार रुपैयाँ नगद, एक थान डिजिटल तराजु र विभिन्न कम्पनीका चार थान मोबाइल सेटसमेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
