किभ – रुसले पश्चिमी खार्किभको एक शहरमा गरेको हवाई आक्रमणमा कम्तिमा ४ जनाको मृत्यु भएको छ। मृतकमा ३ जना बालबालिका पनि रहेका छन्। खार्किभका क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेग सिनेगुबोभका अनुसार आक्रमणमा परेर घरभित्र रहेका एक वर्षीय बालक, दुई वर्षकी बालिका र ३४ वर्षीय पुरुषको मृत्यु भएको हो। यस हमलामा ३५ वर्षकी गर्भवती महिला र ७६ वर्षकी अर्की महिला घाइते भएकी छन्।
मंगलवार राति भएको यो हमला एक हप्ताभरिको ब्रेकपछि रूसले पुनः हवाई आक्रमण सुरु गरेको समयमा भएको थियो। डोनेत्स्कको स्लोभ्यान्स्क शहरमा पनि रुसको बम प्रहारमा दुई जनाको मृत्यु भएको छ, जसमा ११ वर्षकी एक बालिका पनि रहेको बताइएको छ।
त्यस्तै, सोमबार राति देशभर भएका ड्रोन हमलाले हजारौँ मानिसलाई बिजुलीबिहीन बनाएको छ। कठोर चिसोका बीचमा बोहोदुखिभमा एक आमासहित उनका १० वर्षीय छोराको पनि मृत्यु भएको छ। ऊर्जा स्थिति गम्भीर बनेपछि खार्किभ क्षेत्रमा आपतकाल घोषणा गरिएको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्कीले रूसी सेनाले यातायात र ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदै दबाब बढाइरहेको बताएका छन्। यसैबीच, रुसको भोल्गोग्राड क्षेत्रमा युक्रेनी ड्रोनको ठूलो हमला भएको छ, जसमा अपार्टमेन्ट र कारखानामा क्षति पुगेको र आगो लागेको खबर आएको छ।
युक्रेन–रुस युद्धमा नागरिक हताहती र मानविय संकट बढ्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय समुदायले तत्काल शान्ति प्रयासको आवश्यकता रहेको जोड दिएको छ।
