झापा — सातौँ संस्करणको एक्स्ट्रिम झापा गोल्डकप अन्तर्गत आज तेस्रो क्वार्टरफाइनल खेल हुँदैछ। डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजे सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्फु कलेज (आरटीसी)बीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।
जारी राष्ट्रिय लिगमा शीर्ष स्थानमा रहँदै उत्कृष्ट लयमा रहेको विभागीय टोली एपिएफ र दक्षिण एसियाली फुटबलमा उदीयमान मानिएको भुटानी क्लब आरटीसीबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा दर्शक आकर्षित गर्न विभिन्न उपहार योजनासमेत सञ्चालनमा छन्। बिर्तामोडस्थित महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एक जनालाई एक थान टेलिभिजन प्रदान गर्दै आएको छ। साथै, पहिलो दिनदेखि फाइनलसम्म टिकट किन्ने दर्शकमध्ये एक जनालाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल पुरस्कार दिइनेछ भने उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुने आयोजकले जानकारी दिएको छ।
