उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रकाश पाठकलाई प्रहरीले फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको छ। उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।
पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स पुगेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं र इन्टरपोलको समन्वयमा उनलाई पक्राउ गरी स्वदेश फर्काइएको हो।
पाठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रमुख प्रेम राईसहित १० जना उच्च पदस्थ व्यक्तिलाई अल्टिमेटम दिँदै ज्यान मार्ने धम्की दिएको आरोप छ। उनले भदौ २४ गते कारागारबाट फरार भएका एक कैदीलाई प्रयोग गरी ‘सुपारी’ दिएर हत्या गराउने धम्की दिएको पनि प्रहरीले जनाएको छ।
लक्ष्मी बैंकलाई समेत धम्की दिएको घटनाको अनुसन्धानका क्रममा उनी फिलिपिन्समा रहेको खुल्न आएको थियो। त्यसपछि इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो।
उनी डिसेम्बर ३१ मा फिलिपिन्सको मालोलस सिटीमा त्यहाँको ब्युरो अफ इमिग्रेसनको फ्युजिटिभ सर्च युनिट र फिलिपिनी नेशनल पुलिसको संयुक्त अपरेसनबाट पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले उनको पक्राउ पुर्जी जारी गरेको थियो भने इन्टरपोलमार्फत डिसेम्बर १२ मा डिफ्युजन नोटिस जारी गरिएको थियो।
