काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पुर्याएको बताएका छन्।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कार्यक्रममा बुधवार काठमाडौंमा सम्बोधन गर्दै उनले भने कि विश्वव्यापी रूपमा वार्षिक ३.६ बिलियन डलर बराबरको राजश्व नोक्सानी हुने वित्तीय अपराधले आर्थिक मात्र नभई सामाजिक दृष्टिबाट पनि ठूलो चुनौती सिर्जना गरेको छ।
गभर्नर पौडेलका अनुसार, वित्तीय अपराधको आर्थिक प्रभावभन्दा मानवीय मूल्य अझ बढी भयावह छ। यसले सामाजिक–आर्थिक खाडल गहिरो बनाउने मात्र नभई युवा र बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम पनि बढाएको छ। उनीहरूले नयाँ सोच र सिर्जनशीलतामा लाग्नुपर्ने युवा पुस्ता अपराधको माध्यम बन्नुले सबैभन्दा खतरनाक परिणाम सिर्जना गरेको बताए।
सीमानाविहीन वित्तीय अपराधले कानूनी छिद्र र प्रविधिगत कमजोरीको फाइदा उठाउँदै तिब्र गतिमा रकम ओसारपसार गर्ने गरेको उनले बताए। यसलाई रोक्न प्रतिक्रियात्मक उपाय भन्दा निरोधात्मक सुपरिवेक्षण आवश्यक रहेको र वित्तीय समावेशीकरणलाई असर नपार्ने गरी जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्नुपर्नेमा उनले जोड दिए।
गभर्नर पौडेलले बैंकिङ, बीमा, धितोपत्र र सहकारी क्षेत्रका सबै नियामक निकायहरूले सामूहिक रक्षापंक्तिको रूपमा काम गर्नु आवश्यक रहेको र आजको जोखिम मात्र नभई भोलिको अनिश्चितता सामना गर्न सक्ने प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए।
