काठमाडौँ — सशस्त्रका पूर्व डीआईजी रञ्जनप्रसाद कोइरालाले थुनामुक्तिको माग गर्दै दिएको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ।
कोइरालाको निवेदन सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि तय भएको हो।
कोइरालाले हत्या मुद्दामा जन्मकैदको फैसला पाएर हाल जेल जीवन बिताइरहेका छन्। उनी निवेदनमा आफूले ६० प्रतिशत कैद भुक्तान गरिसकेको दाबी गर्दै थुनामुक्तिको माग गरेका हुन्। यसअघि कैदी छुट पाउने अन्य कैदीहरूले राहत पाएको तर आफूले नपाएको कुरा उनले उल्लेख गरेका छन्।
कोइराला ०६८ माघ ८ मा नारायणगढबाट काठमाडौँ फर्कँदै गर्दा थानकोटबाट पक्राउ परेका थिए। जिल्ला र पुनरावेदन अदालतले उनलाई जन्मकैदको फैसला गरेको भए पनि सर्वोच्च अदालतले २०७७ असार १५ मा सजाय घटाएर ८ वर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका थिए।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले नाबालक छोराछोरीको हेरचाह, संरक्षण र शिक्षामा असर पर्ने भन्दै सजाय घटाएका थिए।
कोइरालालाई काठमाडौँ जिल्ला अदालतले ०७१ वैशाख ७ मा जन्मकैदको फैसला गरेको थियो, जुन पुनरावेदन अदालत पाटनले ०७२ मङ्सिर २३ मा पुष्टि गरेको थियो।
