काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन्।
राष्ट्रपतिले भ्रष्टाचार केवल कानुन उल्लङ्घन मात्र नभई नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गहिरो चोट पुर्याउने अपराध भएको बताए। उनले भने, “जब सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग हुन्छ, तब राज्यप्रति नागरिकको भरोसा कमजोर हुन्छ र लोकतन्त्रको आधारभूत मूल्यमा क्षति पुग्छ।”
पौडेलले भ्रष्टाचारको अन्त्य गर्न नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारसहित सदाचार, पारदर्शिता र निष्पक्षता जीवनशैलीमा समावेश गर्नु आवश्यक रहेको बताए। उनले सुशासन र पारदर्शिताविना लोकतन्त्रको प्रतिफल जनतामा पुर्याउन नसकिने पनि जोड दिए।
भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिबद्धता आवश्यक रहेको भन्दै राष्ट्रपति पौडेलले भने, “अख्तियार दुरुपयोगविरुद्धको सङ्घर्ष न्याय, समानता र सुशासनको पक्षमा उभिने सङ्घर्ष हो, जसले नागरिकको विश्वास पुनःस्थापित गर्नेछ र भावी पुस्तालाई सक्षम र भरोसायोग्य राज्य हस्तान्तरण गर्न सकिन्छ।”
