काठमाण्डौ – आज विज्ञानमा महिला तथा बालिकाको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ।
यस दिवसको उद्देश्य महिला र बालिकालाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (STEM) क्षेत्रहरूमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु हो। संयुक्त राष्ट्रसंघले सन् २०१५ डिसेम्बर २२ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष फेब्रुअरी ११ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् २०१६ देखि विश्वभर यस दिवस मनाउन थालिएको हो।
विश्वव्यापी रूपमा STEM क्षेत्रहरूमा लामो समयदेखि लैङ्गिक असमानता देखिँदै आएको छ। उच्च शिक्षामा महिलाको सहभागिता बढेको भए पनि यी क्षेत्रहरूमा उनीहरूको प्रतिनिधित्व अझै कम छ। संयुक्त राष्ट्रसंघले लैङ्गिक समानतालाई आफ्नो प्रमुख एजेन्डा मध्येको एक मान्दै आएको छ।
महिला तथा बालिकाको सशक्तीकरण र लैङ्गिक समानता विश्वको आर्थिक र दिगो विकासका लागि महत्वपूर्ण मानिन्छ। यसै सन्दर्भमा, सन् २०११ मा महिला सम्बन्धी राष्ट्रसंघीय आयोगले शिक्षा, तालिम, विज्ञान र प्रविधिमा महिलाको पहुँच बढाउने र समान रोजगारीमा सहभागी गराउने प्रतिवेदन पारित गरेको थियो। त्यसैगरी, सन् २०१३ मा महासभाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा सबै उमेर समूहका महिलाको समान पहुँच सुनिश्चित गर्न आवश्यक भएको जनाएको थियो।
दिवसको अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विज्ञान र प्रविधिमा महिला तथा बालिकाको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ।
