काठमाडौँ – सरकारले चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। बजेटको अर्धवार्षिक समीक्षामार्फत यस्तो संशोधित अनुमान सार्वजनिक गरिएको हो।
चालू आर्थिक वर्षका लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वार्षिक वृद्धिदर ६ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको थियो। तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता तथा घरजग्गा कारोबारमा आएको गिरावटका कारण वृद्धिदर खुम्चिने आकलन गरिएको हो।
गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान छ। बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा आधारभूत मूल्यमा जीडीपी ३ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि २.९ प्रतिशत रहेको संशोधित तथ्यांक छ।
यस्तै, बजेट मध्यावधि समीक्षा प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनामा औसत मुद्रास्फीति १.७ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति ४.९७ प्रतिशत थियो।
