सल्यान – सल्यानमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बुधबार बिहान करिब ५ः३० बजे सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक ग १ ज ५६६१ नम्बरको पिकअप जिप भीरबाट करिब दुई सय ५० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्स्पेक्टर देवराज भट्टराईका अनुसार जिप रुकुम पूर्वबाट राप्ती लोकमार्ग हुँदै दाङको तुलसीपुरतर्फ आइरहेको थियो। दुर्घटनामा जिप चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ अमलाचौरका ३० वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिस्ने गाउँपालिका–४ की ३८ वर्षीया ललिता केसी, सिस्ने–२ की २२ वर्षीया सुष्मी रोका र उनकी २ वर्षीया छोरी सफलता केसी घाइते भएका छन्। घाइतेमध्ये ललिताको अवस्था मध्यम रहेको छ भने आमा–छोरीको अवस्था सामान्य रहेको बताइएको छ।
घाइते सबैलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको छ।चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
