काठमाडौँ – आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मतदान प्रक्रियालाई सहज र सरल बनाउने तथा बदर मतको प्रतिशत घटाउने उद्देश्यले आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो। यसका लागि देशका सबै ७५३ वटै स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ।
स्वयंसेवकहरूले मतदाताको घरदैलो तथा बस्तीमा पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
आयोगले मतदाता शिक्षा कार्यक्रम सफल बनाउन आवश्यक सहयोगका लागि सातै प्रदेश सरकार, ७५३ वटै स्थानीय तह, राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सबै सरोकारवालासँग सहकार्यका लागि आग्रह गरेको छ।
