किभ । रुसले युक्रेनको ऊर्जा संरचनामाथि आक्रमण तीव्र पारेपछि कठोर जाडोका बीच हाइपोथर्मिया (अत्यधिक चिसो) का कारण मृत्यु हुनेको संख्या बढिरहेको छ। लगातारका ड्रोन र मिसाइल आक्रमणका कारण लाखौँ नागरिक बिजुली, तातोपानी तथा केन्द्रीय हीटिङ प्रणालीबाट वञ्चित भएका छन्।
जनवरी ९ को राति रुसले २४२ ड्रोन र ३६ वटा मिसाइल प्रहार गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन्। आक्रमणमा पुटिनले ‘उल्काजस्तै तीव्र’ भनेको ओरेशनिक ब्यालिस्टिक मिसाइल पनि समावेश रहेको बताइएको छ। उक्त मिसाइललाई पश्चिमी वायु–प्रतिरक्षा प्रणालीले रोक्न नसक्ने दाबी गरिएको छ। यस आक्रमणमा चार जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्। ठूलो मात्रामा ऊर्जा पूर्वाधार क्षतिग्रस्त भएको बताइएको छ।
सन् २०२२ यता यस्ता दर्जनौँ आक्रमणले देशभर विद्युत् र ताप आपूर्ति अवरुद्ध पार्दै आएको छ। तापक्रम माइनस १० डिग्री सेल्सियसभन्दा तल झरेपछि सडक तथा निप्रो नदीमा बाक्लो हिउँ जमेको छ।
मानवीय संस्थाहरूले ऊर्जा आपूर्ति पुनर्स्थापनालाई युद्धस्तरको आपत्कालीन प्राथमिकता दिन आग्रह गरेका छन्। अन्यथा कठोर जाडोका कारण मृत्यु संख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।
