अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानडालाई जोड्ने गार्डी होवे अन्तर्राष्ट्रिय पुलको उद्घाटन रोक्ने चेतावनी दिएका छन्। क्यानडाले अमेरिकालाई दिनुपर्ने सबै प्रकारका योगदानको ‘पूर्ण क्षतिपूर्ति’ नपाएसम्म पुल सञ्चालनमा नआउने उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले ओन्टारियो (क्यानडा) र मिसिगन (अमेरिका) लाई जोड्ने उक्त पुल तबसम्म नखुल्ने स्पष्ट पारेका छन्, जबसम्म क्यानडाले अमेरिकासँग ‘निष्पक्ष व्यवहार’ नगर्ने अवस्था अन्त्य हुँदैन।
पुल परियोजनाको आधिकारिक वेबसाइटका अनुसार यसको निर्माण खर्च क्यानडाले व्यहोरेको हो। यद्यपि पुलको स्वामित्व भने क्यानडा सरकार र अमेरिकी राज्य मिसिगनबीच संयुक्त रूपमा रहने व्यवस्था गरिएको छ।
यस विषयमा मिशिगनकी डेमोक्रेट सिनेटर एलिसा स्लाँटकिनले पुल उद्घाटन रोक्नु राज्यको अर्थतन्त्रका लागि गम्भीर क्षति हुने चेतावनी दिएकी छन्। उनका अनुसार उक्त पुलले व्यापार विस्तार, रोजगारी सिर्जना तथा सीमापार आवागमनलाई महत्वपूर्ण टेवा पुर्याउनेछ।
यद्यपि राष्ट्रपति ट्रम्पसँग पुलको उद्घाटन रोक्ने स्पष्ट कानुनी अधिकार छ वा छैन भन्ने विषयमा हालसम्म स्पष्टता आएको छैन। सन् २०१८ मा निर्माण सुरु गरिएको उक्त पुल आवश्यक परीक्षण प्रक्रिया पूरा भएपछि सन् २०२६ को सुरुआतमै सञ्चालनमा ल्याउने योजना रहेको छ।
