काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती र जनताले भोग्नुपरेको असुविधाप्रति चिन्ता व्यक्त गर्दै ‘डिजिटल गभर्नेन्स’ को आवश्यकता औंल्याएका छन्।
सभापति थापाले सामाजिक सञ्जालमार्फत जारी भिडियो सन्देशमा आम नागरिकका लागि सामान्य सरकारी सेवा लिन पनि अहिले हैरानीपूर्ण बनेको बताएका छन्। उनले भनेका छन्,
“कहिले लाइनको लाइन, कहिले फाइल घुमिरहेको, काममा ढिलाइ! आम नागरिकलाई कतिपय सरकारी सेवा लिन नै हैरानीको विषय बनेको छ।”
थापाले अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन्। उनले ‘न्यूनतम सरकारी निकाय, अधिकतम सुशासन’ को सिद्धान्त अनुरुप अघि बढ्नुपर्ने बताए।
उनले परम्परागत कागज र फाइलमा आधारित सेवा प्रवाहको शैलीले जनतालाई दुख दिएको भन्दै, प्रविधिको प्रयोगमार्फत यसलाई सुधार्ने प्रतिबद्धता जनाए। “डिजिटल गभर्नेन्समार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने हाम्रो स्पष्ट प्रतिबद्धता हो,” उनले भने।
थापाले राज्यले दिने सेवामा लाइन बस्नुपर्ने बाध्यता र फाइल घुमाएर काम अल्झाउने प्रवृत्तिको अन्त्यका लागि प्रविधिमैत्री प्रशासन नै एक मात्र विकल्प भएको बताएका छन्।
