रामेछापको तामाकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
मन्थली अस्पतालका अनुसार, मृत्यु हुने १२ मध्ये ११ जनाको पहिचान खुलेको छ। पहिचान खुलिसकेको मृतकको नामहरू यसप्रकार छन्: विशाल सुनुवार, भीमबहादुर तामाङ, बबी तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल, शिव श्रेष्ठ, रमिता तामाङ र दीपेन्द्र बस्नेत।
अस्पतालका अनुसार, “१२ वटा शव अस्पतालमा ल्याइएको छ, त्यसमध्ये एक जनाको नाम खुलिसकेको छैन।”
रामेछापका डीएसपी भोला भट्टका अनुसार, मंगलबार बिहान काठमाडौँबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बस मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका छन्। घाइतेहरूलाई खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने बाँकी यात्रुको खोजतलास जारी रहेको छ।
