जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका विभिन्न मुद्दाका आठ जना कैदीबन्दीलाई धनकुटा प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक (एसपी) सरतकुमार थापा क्षेत्रीका अनुसार, पक्राउ परेकाहरू कर्तव्य ज्यान, अङ्गभङ्ग, जबरजस्ती करणी, चोरी तथा लागुऔषध गाँजा सम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएका थिए।
एसपी थापा क्षेत्रीले जानकारी दिए अनुसार:
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई धनकुटा साँगुरीगढी–६ भेडेटार चोकबाट पक्राउ गरिएको हो। उनी कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद भोगिरहेका थिए।
चौबिसे गाउँपालिका–३ का ३४ वर्षीय सिजन तामाङलाई अङ्गभङ्ग मुद्दामा ३० महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। उनलाई घरबाटै पक्राउ गरिएको थियो।
सहिदभूमि गाउँपालिका–२ का २१ वर्षीय सुरेश शिवा, धनकुटा नगरपालिका–६ का २६ वर्षीय अनिल सहनी, सहिदभूमि–७ का सङ्गम माझी र साँगुरीगढी–१ का ३३ वर्षीय बुद्धराज लिम्बुलाई पनि लागुऔषध गाँजा मुद्दामा फरार अवस्थामा पक्राउ गरी कारागारमा पुनः राखिएको छ।
चौबिसे गाउँपालिका–२ धारापानीका ४६ वर्षीय रमेश माङ्मी मगरलाई कर्तव्य ज्यान तथा जबरजस्ती चोरी मुद्दामा २० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो।
सुनसरीको धरान उपमहानगरपालिका–२० का ३२ वर्षीय सागर राईलाई कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय भएको थियो। उनी लुकिछिपी बसेको अवस्थामा पक्राउ परे।
एसपी थापा क्षेत्रीले फरार कैदीबन्दीलाई खोजतलास गरी नियन्त्रणमा लिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागारमा बुझाइएको जानकारी दिए।
