दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक वृद्धा मृत फेला परेकी छन्।
शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी मंगलबार बिहान आफ्नै घरआँगनमा मृत अवस्थामा फेला परेकी हुन्। घरमा एक्लै बस्दै आएकी जोशीको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
मृतक जोशीले लगाएका सुनका गरगहना लुटिएको र घरभित्र रहेको बाकससमेत तोडफोड गरिएको अवस्थामा फेला परेको मृतकका नातेदार माधव जोशीले जानकारी दिएका छन्।
घटनाको प्रकृति हेर्दा लुटपाटपछि हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ भने प्रहरीले सबै कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
