काठमाडौँ । लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको उक्त मुद्दा गुप्ताका कानुन व्यवसायीको आग्रहमा स्थगित गरिएको हो।
विशेष अदालतले लिचीबारी जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने दिएको आदेश बदर गर्न माग गर्दै गुप्ताले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। यसअघि उक्त निवेदनमाथि न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्य प्रतिवादीसम्बन्धी ७३ नम्बरको निवेदन परेको/नपरेको यकिन गर्न आदेश दिएको थियो।
पोखरास्थित लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य नियुक्त गरिदिने आश्वासन दिँदै एक घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। साथै, गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गरी कार्य सुविधा उपलब्ध गराउन २५ लाख रुपैयाँ घुस लिएको अभियोग पनि लगाइएको छ।
अदालतमा बयान दिँदै गुप्ताले आफूविरुद्धका आरोप झुटा भएको र कसैसँग घुस नलिएको दाबी गरेका थिए। तर, अदालतले तत्काल उपलब्ध प्रमाणका आधारमा उनलाई निर्दोष ठहर गर्न नसकिने निष्कर्ष निकालेको थियो।
