काठमाडौँ – दार्चुलामा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको छ। उनी सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत थिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम रानाले जानकारी दिए अनुसार, हवल्दार घर्ती मंगलबार महाकाली नगरपालिका–४, बांगाबगडा स्थित एउटा होटलको पछाडि मृत भेटिएका हुन्।
प्रारम्भिक अनुसन्धान अनुसार उनको कुटपिट गरी हत्या गरिएको आशङ्का गरिएको छ। हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ। डीआईजी रानाले भने, “कुटेर हत्या गरेको देखिन्छ, सोधपुछका लागि चार जना शङ्कितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।”
