भारतको मेघालय राज्यस्थित पूर्वी जयन्तिया हिल्समा रहेको एक अवैध कोइलाखानीमा भएको विस्फोटमा ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ। माघ २२ गते भएको शक्तिशाली डाइनामाइट विस्फोटमा परी बेपत्ता भएका खोटाङका रत्न राईको पनि मृत्यु पुष्टि भएसँगै मृतकको संख्या चार पुगेको हो।
मृत्यु हुनेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राई, बराहपोखरी गाउँपालिका–१ का २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गी रहेका छन्। विस्फोटपछि बेपत्ता भएका रत्न राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको थियो। शवको हुलियाका आधारमा परिवारले पहिचान गरेका हुन्।
विस्फोटमा परी खोटाङका कर्णबहादुर खपाङ्गी, बमबहादुर खपाङ्गी तथा उदयपुरका ललित मगर गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
मृतक पूर्णबहादुर र सुरेन्द्र खपाङ्गी एकै घरका दाजुभाइ हुन्। उनीहरूको माघ २६ गते भारतकै सिलाङमा दाहसंस्कार गरिएको छ भने रत्न राईको घरमा काजकिरिया सुरु भइसकेको छ।
