काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनारलाई ६० लाख रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
कीर्तिपुरमा भएको उक्त लुटपाट घटनामा संलग्न रहेको आशंकामा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार ‘सस्तो दरमा बिलसहित सुन उपलब्ध गराइदिने’ प्रलोभन देखाउँदै एउटा समूहले पीडितलाई कीर्तिपुर बोलाएको थियो।
माघ १४ गते कीर्तिपुरस्थित एबीगाडो क्याफेमा पुगेका पीडितलाई हवल्दार सुनारको नेतृत्वमा रहेको समूहले आफूहरू केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी भएको भन्दै परिचय दिएको र पीडितसँग रहेको ६० लाख रुपैयाँ लुटेर फरार भएको खुलेको छ।
३८ वर्षीय हवल्दार सुनार नवलपरासी (पूर्व) कावासोती–१३ का स्थायी बासिन्दा हुन्। घटनामा संलग्न अन्य तीन जनालाई समेत प्रहरीले पक्राउ गरिसकेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिएका छन्।
