प्रधानमन्त्री एवं रक्षा मन्त्री सुशीला कार्कीले नेपाली सेनालाई आगामी निर्वाचनमा कुनै पनि प्रकारको सुरक्षा चुक नहोस् भनी निर्देशन दिएकी छन्।
मंगलबार जंगी अड्डामा भएको पृतनापति समन्वयात्मक बैठकको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले विगतका निर्वाचनमा सुरक्षा संयन्त्रबीच देखा परेका समन्वय त्रुटि दोहोरिन नदिन निर्देशन दिएकी हुन्।
उनले भनिन्, “विगतमा सुरक्षा संयन्त्रहरूबीच त्रुटि वा रिक्तता भए त्यसलाई दोहोरिन नदिन सतर्क रहनुहोस्। यस निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न गर्न अघिल्ला अनुभव र आसन्न निर्वाचनका विविध आयामहरूलाई विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै निकायसँग समन्वय गरी त्रुटिरहित काम गर्नुहोस्।”
प्रधानमन्त्री कार्कीले नेपाली सेनाले दिइएका जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्नेमा पूर्ण विश्वास व्यक्त गरेकी छन्।
साथै उनले राजनीतिक गतिविधिहरूलाई बिना अवरोध सञ्चालन गर्न अन्य सुरक्षा निकायहरूसँग सहकार्य गर्न पनि निर्देशन दिएकी छन्। उनले थपिन्, “जनतालाई सुरक्षा प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहज, सहयोगी र सुरक्षित बनाउने र सबै राजनीतिक दलका गतिविधिहरूलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न अन्य निकायहरूसँग सहकार्य गर्दै स्पष्ट कार्ययोजना सहित अघि बढ्नुहोस्।”
