विराटनगर – मोरङको सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीमा प्रहरीले हतियार र सञ्चार सेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरीले आइतबार बेलुका इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाको संयुक्त टोलीले २८ वर्षीय सिलास लिम्बुको घरमा छापा मारेको थियो। सो छानबिन क्रममा उनको सुत्ने कोठाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल, भरुवा बन्दुक, र बाओफेङ लेखिएका दुई थान मोबाइल हेण्डसेट फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा लिम्बुले हतियार र हेण्डसेट सुन्दरहरैचा–३ का २९ वर्षीय प्रेम बहादुर गुरुङबाट लिएको जानकारी दिएका थिए। प्रहरीले तुरुन्तै गुरुङलाई पनि नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान जारी रहेको मोरङ प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।
