काठमाडौँ: बजारमा खानेतेल, खाना पकाउने ग्यास लगायतका सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत निरीक्षण र अनुमगनलाई तीव्र बनाएको छ।
विभागले उपभोक्तालाई सहज राहत प्रदान गर्न र दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने फर्म, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवा प्रदायकलाई कानूनी कारबाहीको दायरामा ल्याउन प्रभावकारी ढंगले बजार अनुमगन अगाडि बढाएको जनाएको छ।
पछिल्ला दिनमा विशेषगरी खाना पकाउने ग्यासको अभाव देखिनु उपभोक्ताका लागि समस्या बनिरहेको छ। Sagar Feeds, Sargam, Nemato र Softy जस्ता फर्महरूमाथि विभागले निगरानी राखिरहेको छ र कुनै पनि कानुनविपरीत गतिविधि भए कडा कारबाही हुने चेतावनी दिएको छ।
नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको पर्याप्त आपूर्ति भएको दाबी गरे पनि उपभोक्ताले सहज रूपमा प्राप्त गर्न नसकेको गुनासो आएको छ। गुनासो बढेपछि विभागले आवश्यक सक्रियता देखाउँदै निरीक्षण प्रक्रिया सुरु गरेको हो।
