पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जस्थित अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ ।
सोमबार वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका–अदर्शनगरमा रहेको एक अवैध गोदाममा छापा मारेको थियो । छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए भने सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो ।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आक्रमणमा संलग्न चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार घटनास्थलको सिसिटिभी फुटेजको आधारमा थप अनुसन्धान भइरहेको छ । अनुसन्धान जारी रहेकाले संलग्न व्यक्तिहरूको नाम पछि सार्वजनिक गरिने उनले बताए ।
संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याइएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो । सो स्थानबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
