चीनले अन्तरिक्ष प्रविधिको विकासतर्फ महत्त्वपूर्ण कदम चाल्दै अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। अन्तरिक्ष यानलाई उत्तरपश्चिमी चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२एफ’ रकेटको माध्यमबाट प्रक्षेपण गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
सिन्ह्वाका अनुसार, प्रक्षेपण निर्धारित योजना अनुसार सफलतापूर्वक सम्पन्न भएको छ। अन्तरिक्ष यानले कक्षमा रहेर विभिन्न महत्त्वपूर्ण प्रविधिहरूको परीक्षण र प्रमाणीकरण गर्नेछ। यसमा उडान नियन्त्रण प्रणाली, कक्षीय सञ्चालन, पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश प्रविधि र सुरक्षित अवतरण प्रणालीको परीक्षण समावेश छ।
चिनियाँ अधिकारीहरूले यस मिशनबाट प्राप्त प्राविधिक तथ्याङ्क र अनुभव भविष्यका अन्तरिक्ष यानको डिजाइन र विकासमा प्रयोग हुने बताएका छन्। यसले अन्तरिक्ष अभियानको लागत घटाउन र दीर्घकालीन अन्तरिक्ष अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
