पोखरा – सहारा क्लब पोखराको आयोजनामा २५औं संस्करणको आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। पहिलोपटक फ्लडलाइटमा आयोजना हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र गुर्खा इन्टरनेशनल एफसी (हङकङ) बीच प्रतिस्पर्धा हुनेछ।
खेल साँझ सवा ५ बजेदेखि पोखरा रंगशालामा सुरु हुनेछ। प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, फ्रेन्ड्स क्लब, सहारा क्लब पोखरा, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, हङकङको गोर्खा इन्टरनेशनल एफसी र उज्बेकिस्तानको आभा फुटबल क्लब सहभागी छन्।
प्रतियोगिता ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहर बनाऔँ’ भन्ने उद्देश्यका साथ आयोजना भइरहेको छ। यसपटक पुरस्कार राशिमा वृद्धि गरिएको छ; विजेताले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद–गण्डकी र एन्फा कास्की लगायतका निकायको सहयोग छ।
पोखरा पर्यटन वर्ष २०२५–२६ प्रवर्द्धनको उद्देश्यसहित यसपटक अस्थायी फ्लडलाइट जडान गरी संध्याकालीन खेल सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।
