भोजपुर – रामप्रसादराई गाउँपालिकामा लोपोन्मुख परम्परागत ज्ञान, सीप, संस्कृति र पहिचानको संरक्षण तथा पुस्तान्तरणको उद्देश्यले पाँच दिनसम्म ‘रैथाने ज्ञान महोत्सव’ आयोजना गरिएको छ। महोत्सवले गाउँघरमा रहेका मौलिक ज्ञान र संस्कृतिलाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्याउने लक्ष्य राखेको थियो।
कार्यक्रममा किरात संस्कृतिसँग सम्बन्धित साकेला शैलीको प्रशिक्षण, स्थानीय युवा र सहभागीहरूद्वारा परम्परागत नृत्य, गीत र संस्कृतिको अभ्यास, पर्यटनमा रैथाने स्वाद र स्वामित्वबारे समूहगत बहस, शिक्षा प्रणालीमा स्वदेशी सम्भावनाबारे छलफल, र लोक मूल्य तथा राजनीति सम्बन्धी बहस समेत समावेश थियो।
बहसमा सहभागी वक्ताहरूले रैथाने खानपान, स्थानीय उत्पादन, सांस्कृतिक सम्पदा र पर्यटनलाई जोड्दै रोजगारी र आर्थिक अवसर सृजना गर्ने उपायहरू, स्थानीय आवश्यकताअनुसारको शिक्षा प्रणाली, सीपमूलक शिक्षा, स्वदेशमै सम्भावना सृजना गर्ने विषयमा गहन विचारविमर्श गरेका थिए।
गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार महोत्सवले स्थानीय पहिचान संरक्षण, सामाजिक एकता, सामुदायिक सहभागिता र स्थानीय विकासमा सकारात्मक योगदान पुर्याएको छ। उहाँले विगत तीन वर्षदेखि महोत्सव निरन्तर गर्दै आएको बताउँदै आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउने योजना रहेको जानकारी दिनुभयो।
