झापाको बिर्तामोड नगरपालिका–२ चारपाने लालमाटीस्थित ओमकार रेडिमेन्स कङ्क्रिट प्रा.लि.मा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ।
सोमबार राति मिक्सर मेसिन सफा गर्ने क्रममा करेन्ट सट भई गम्भीर घाइते भएका शिवसताक्षी नगरपालिका–४ निवासी २८ वर्षीय राजीव राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो। उनी उक्त उद्योगमा हेल्परका रूपमा कार्यरत थिए।
प्रहरीका अनुसार मिक्सर मेसिन सफा गर्ने क्रममा मेसिनमा हिल्टी प्रयोग गर्दा अचानक करेन्ट सट भएको थियो। गम्भीर घाइते भएका राजवंशीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
