काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा भोलि (मङ्गलबार) सार्वजनिक गर्ने भएको छ। अर्थ मन्त्रालयले दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको हो।
मन्त्रालयले समीक्षा तयारीका लागि पछिल्लो दुई महिनादेखि बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहालको संयोजकत्वमा काम गरिरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार माघ २०–२५ भित्र समीक्षा सार्वजनिक गर्ने लक्ष्य रहे पनि केही ढिलाइपछि भोलि सार्वजनिक गर्न लागिएको हो।
साउनदेखि पुससम्मको राजस्व सङ्कलन, खर्चको अवस्था तथा बजेट कार्यान्वयनको प्रगति मूल्याङ्कन गरी अर्धवार्षिक समीक्षा तयार गरिएको मन्त्रालयले जनाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनअनुसार हरेक वर्ष माघ मसान्तभित्र अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। साथै, प्रतिवेदन तोकिएको मितिभन्दा कम्तीमा १५ दिनअघि तयार गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ।
यस वर्ष पनि बजेट अनुमान संशोधन गरी आकार घटाइने सम्भावना देखिएको छ। सरकारले चालु वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो। तर, भदौ २३–२४ गते भएको जेनजी आन्दोलन र त्यसपछिका परिस्थितिका कारण बजेट कार्यान्वयनमा चुनौती देखिएको छ। आन्दोलनले थप वित्तीय भार सिर्जना गर्नुका साथै बजेटमा नसमेटिएका दायित्वसमेत सरकारमाथि थपिएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि करिब ३० अर्ब रुपैयाँ व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको र त्यसका लागि विकास बजेट कटौती गर्नुपर्ने सम्भावना रहेको बताइएको छ। यसैगरी, जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण तथा निर्वाचन खर्च व्यवस्थापन गर्न ५३ आयोजनाका करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबरको बजेट रोक्का गरेर स्रोत व्यवस्थापन गर्ने रणनीति बनाइएको मन्त्रालय स्रोतले जनाएको छ।
कुल विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) विनियोजन गरिएको छ।
विगत एक दशकदेखि अर्धवार्षिक समीक्षामा बजेटको आकार घटाउने प्रवृत्ति दोहोरिँदै आएको छ। यस वर्षको समीक्षा पनि सोही दिशातर्फ जाने संकेत देखिएको छ।
