काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति प्रदान गरेको छ। हवाई दुर्घटना तथा जाँचबुझ आयोग र प्राधिकरणले दिएका सम्पूर्ण निर्देशन तथा सुझावहरू पालना गरेपछि कम्पनीले उडान अनुमति पाएको हो।
कम्पनीका अनुसार आवश्यक प्राविधिक सुधार तथा टेक्निकल सफ्टवेयर खरिद–जडानपछि गरिएको सुरक्षा अडिटमा ६५ प्रतिशतभन्दा बढी अंक प्राप्त भएको छ। त्यसपछि प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले एयर अपरेटर सर्टिफिकेट (एओसी) नवीकरण गरेका हुन्।
गत ९ साउन २०८१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्यको विमान दुर्घटनामा परेपछि कम्पनीका सबै उडान स्थगित गरिएका थिए। ३० साउन २०८२ मा उडान अनुमति प्रमाणपत्रको प्रतिबन्ध फुकुवा भए पनि सुरक्षा अडिटमा ६० प्रतिशतभन्दा कम अंक आएपछि नियमित उडानमा रोक कायम थियो।
हाल प्राधिकरणले दिएको २३ बुँदे सुरक्षा सुझाव पूर्ण रूपमा कार्यान्वयन गरी पुनः अडिटमा ६५ प्रतिशतभन्दा बढी अंक ल्याएपछि कम्पनीले उडान अनुमति प्राप्त गरेको प्रवक्ता मुकेश खनालले जानकारी दिए। उनका अनुसार कम्पनीले प्रारम्भिक चरणमा एउटा विमानबाट सेवा सुरु गर्नेछ।
सुरुमा विराटनगर र भद्रपुरमा नियमित उडान सञ्चालन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ। हाल कम्पनीसँग ९एन–एलइ र ९एन–एएनएम कलसाइनका दुई विमान छन्। ९एन–एलइ प्राविधिक समस्याका कारण ग्राउन्डेड अवस्थामा रहेको र ९एन–एएनएम विमानमार्फत उडान सञ्चालन गरिनेछ।
कम्पनीका नायब प्रबन्ध निर्देशक उमेश आचार्यका अनुसार निकट भविष्यमा एटीआर ७२–६०० विमान थप गरी सेवा विस्तार गर्ने योजना रहेको छ।
विगत १८ महिनादेखि उडान अवरुद्ध रहे पनि कम्पनीले १०५ देखि १६५ कर्मचारीलाई तलब–भत्ता प्रदान गर्नुका साथै आवश्यक प्राविधिक तालिम सञ्चालन गरेको जनाएको छ। साथै, सरकार तथा नियामक निकायप्रति कुनै बक्यौता नरहेको कम्पनीको दाबी छ।
