विराटनगर: भन्सार छली गरी भारतबाट अवैध रूपमा कपडा नेपाल भित्र्याइएको आशंकामा प्रहरीले विराटनगरबाट दुईवटा ट्रक नियन्त्रणमा लिएको छ।
लत्ताकपडा लोड गरिएका ती ट्रक आइतबार साँझ विराटनगर महानगरपालिका वडा नम्बर १४ स्थित नेपाल टेलिकम कार्यालय अगाडिबाट नियन्त्रणमा लिइएका हुन्।
मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार प्र ३–०१–००५ ख ९४२५ र प्र ३–०१–००६ ख १३०८ नम्बरका ट्रक भारतबाट नेपाल प्रवेश गर्दा बिल–बीजकभन्दा बढी परिमाणमा कपडा बोकेको तथा भन्सार मूल्यांकन कम गरिएको विशेष सूचनाको आधारमा प्रहरीले दुवै ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको हो।
९४२५ नम्बरको ट्रक चालक सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–९ निवासी ४९ वर्षीय ऋषिराम पौडेल र अर्को ट्रकका चालक रामेछाप जिल्लाको मन्थली नगरपालिका–१० निवासी ३७ वर्षीय कुमार बुढाथोकीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार मूल्यांकन कम गरी ठूलो परिमाणमा राजस्व चुहावट गरिएको आशंका पुष्टि हुने संकेत भेटिएको प्रहरीले जनाएको छ। ट्रकमा लोड गरिएको लत्ताकपडाको अन्दाजी मूल्य १ करोड ८१ लाख २६ हजार ८७ रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
