काठमाडौँ – राष्ट्रियसभाले सरकारको निर्णयअनुसार सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। आज बसेको बैठकले राष्ट्रियसभामा विचाराधीन रहेको सामाजिक सञ्जाल विधेयक २०८१ औपचारिक रूपमा फिर्ता गरेको हो। सभाध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गर्नुभयो।
उक्त विधेयक राष्ट्रियसभाबाट उत्पत्ति भई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको थियो। समितिमा ३५ जना सांसदले १ सय ५५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए। समितिका सभापति तुलसाकुमारी दाहालले विधेयकमाथि मन्त्री, मन्त्रालयका सचिव तथा सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको जानकारी दिनुभयो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माघ २० गते विधेयक फिर्ता गर्ने निर्णय गरी माघ २१ गते सरकारका तर्फबाट राष्ट्रियसभालाई पत्राचार गरेको थियो।
यस्तै, बैठकले पर्यटन विधेयक पनि सर्वसम्मत रूपमा पारित गरेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो। उक्त विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वैशाख ५ गते दर्ता गराउनुभएको थियो।
