सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा बन्द भएको हो। बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब ७७ करोड रुपैयाँमा सीमित भयो।
यस दिन ३२४ कम्पनीका २ करोड ६७ लाख ६६ हजारभन्दा बढी कित्ता सेयर किनबेच भए। ४२ कम्पनीको सेयरमूल्य बढ्दा २१२ कम्पनीको घट्यो भने ६ कम्पनी स्थिर रहे।
खानीखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३०४ रुपैयाँ ४० पैसामा पुगेको छ। रिडी पावरको सेयरमूल्य ९.११ प्रतिशतले बढेर ३१६ रुपैयाँ ३० पैसा कायम भयो।
यता, माया खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.४० प्रतिशतले घटेर ३११ रुपैयाँ १० पैसामा झरेको छ। माबिलुङ इनर्जीको सेयरमूल्य पनि ४.९३ प्रतिशतले घटेर १ हजार ७६६ रुपैयाँ ३० पैसामा सीमित भएको छ।
कारोबार रकमका आधारमा रिडी पावर अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ७७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। दोस्रो स्थानमा एसवाई प्यानल रहँदै ५४ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूह ०.२४ प्रतिशतले बढ्दा बाँकी १२ समूह घटे। वित्त समूहको परिसूचक सर्वाधिक २.२९ प्रतिशतले घटेको छ।
