काठमाडौँ। प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभनमा पारेर लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षकका अनुसार पक्राउ पर्नेमा ललितपुरको धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन र ४५ वर्षीया विन्दा महर्जन, बागलुङ काठेखोला गाउँपालिका–२ की ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ का ३१ वर्षीय सन्तोष राई तथा काभ्रे चौंरीदेउरी गाउँपालिका–९ की ४८ वर्षीया कुमारी तामाङ रहेका छन्।
प्रहरीका अनुसार विना र विन्दाले अमेरिका पठाइदिने भन्दै १० लाख रुपैयाँ, कोपिला शर्माले बेलायत पठाइदिने भन्दै १३ लाख रुपैयाँ, सन्तोष राईले कम्बोडिया पठाइदिने भन्दै ३ लाख ७० हजार रुपैयाँ तथा कुमारी तामाङले पोर्चुगल पठाइदिने भन्दै १३ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा अनुसन्धान गरी पाँचै जनालाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षकले जानकारी दिए।
