पर्सा जिल्लामा सोमबार सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ। वीरगन्ज महानगरपालिका-१० स्थित एक गोदाममा छापा मार्ने क्रममा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको डिएसपीले जानकारी दिएका छन्।
घटनामा तीन सशस्त्र प्रहरी घाइते भएका छन्। उनीहरूलाई आवश्यक उपचारका लागि अस्पताल लगिएको छ। डिएसपीका अनुसार वीरगन्जको आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाममा राखिएको कपडा बरामद गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा बल वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोली खटिएको थियो।
कपडा बरामद गरेपछि तस्कर समूहले सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेका थिए। यस क्रममा सशस्त्र प्रहरी बल नेपालको एउटा वाहन र एक वानटनमा क्षति पुगेको छ।
गोदामबाट ७ लाखभन्दा बढी मूल्यका कपडा बरामद गरिएको छ। बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको डिएसपीले जानकारी दिए।
