काठमाडौंमा सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अलि अल अन्सारीबीच भेटवार्ता भएको छ। भेटमा नेपाल–कतारबीच आर्थिक विकास, पर्यटन प्रवर्द्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरिएको छ।
भेटवार्तामा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदली र कतार एयरवेजका प्रतिनिधिहरू पनि सहभागी थिए।
विशेषत: नेपाल–कतारबीच सिधा हवाई उडानको संख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने र नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे केन्द्रित छलफल भएको थियो। मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको पनि जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष ढकालले पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा नेपाल–कतारबीच विस्तारको सम्भावना रहेको बताए। उनले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, कृषि र सेवा क्षेत्र आकर्षक हुने उल्लेख गरे।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्य आवश्यक रहेको बताए। उनले उड्डयन र पर्यटन सहकार्यले दुई देशबीच व्यापार र जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
यो भेटघाटले नेपाल–कतार सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने, पर्यटन प्रवर्द्धन तथा हवाई सम्पर्क विस्तारमार्फत आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कतारी प्रतिनिधिमण्डल नेपाल–कतार संयुक्त व्यवसाय परिषद्को बैठकका लागि नेपाल आएको हो।
