झापाको कचनकवल गाउँपालिका–३ डाँगीबारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ।
आइतबार बिहान स्थानीय खेलबहादुर राजवंशीको घर पछाडि परालको कुन्यु नजिक हरियो कपडाको सलले बेरेर राखिएको अवस्थामा नवजात शिशु (छोरा) मृत फेला परेको हो।
शिशु जन्मिएलगत्तै सालनालसहित फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त नवजात शिशु खेलबहादुर राजवंशीकी १७ वर्षीया छोरी कल्पना राजवंशीको रहेको खुलेको छ। कानुनी प्रक्रिया पूरा गरी शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
घटनाको अनुसन्धानका क्रममा कचनकवल गाउँपालिका–४ केचनाका १८ वर्षीय हेम राजवंशीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको छ। सुत्केरी अवस्थामा रहेकी किशोरीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै केही दिनपछि मात्रै उनलाई पक्राउ गरिने प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार अवैध सम्बन्धबाट गर्भमा रहेको शिशुलाई जन्माएपछि फालिएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
