हङकङको एक अदालतले प्रजातन्त्र समर्थक चर्चित उद्योगपति तथा सञ्चार उद्यमी जिमी लाईलाई राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घनको अभियोगमा २० वर्ष जेल सजाय सुनाएको छ। डिसेम्बरमा दोषी ठहर गरिएका लाईलाई आज सजाय तोकिएको बीबीसीले जनाएको छ।
यो सजाय चीनद्वारा हङकङमा लागू गरिएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत अहिलेसम्मकै सबैभन्दा कडा सजायका रूपमा हेरिएको छ। चीनले भने उक्त कानुन हङकङको स्थिरता र सुरक्षाका लागि आवश्यक रहेको दाबी गर्दै आएको छ।
ब्रिटिश पासपोर्ट धारक जिमी लाई बेइजिङका कट्टर आलोचकका रूपमा परिचित छन्। उनले स्थापना गरेको प्रजातन्त्र समर्थक पत्रिका ‘एप्पल डेली’ मार्फत चीन सरकारको आलोचना गर्दै आएका थिए। अभियोग अनुसार, उनले सो पत्रिकालाई सरकारविरुद्ध विरोधको माध्यमका रूपमा प्रयोग गरेका थिए।
अदालतले ‘एप्पल डेली’ का पूर्व ६ जना कार्यकारी अधिकारीहरूलाई पनि ६ वर्ष ९ महिनादेखि १० वर्षसम्मको जेल सजाय सुनाएको छ।
प्रजातन्त्र समर्थक आन्दोलनले जिमी लाईलाई नायकका रूपमा हेर्दै आएको छ भने चिनियाँ प्रशासनले उनलाई देशद्रोहीको संज्ञा दिएको छ। यद्यपि, लाईले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन्। उनले आफूले हङकङका मूल्य—कानुनको शासन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार—का पक्षमा मात्र आवाज उठाएको दाबी गरेका छन्।
