रौतहट । आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की सहायक निरीक्षक (असई) बताउँदै विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको बरहथवा घर भई हाल कविलासी नगरपालिका बस्दै आएकी ३५ वर्षीया निर्मला महतो रहेकी छन्। उनले नेहा, निशा र पुनम कुमारीलगायतका विभिन्न नाम प्रयोग गरी लामो समयदेखि ठगी धन्दा सञ्चालन गर्दै आएकी थिइन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार निर्मलाले भन्सारका कर्मचारीसँग राम्रो सम्बन्ध रहेको भन्दै सस्तोमा स्कारपियो गाडी मिलाइदिने प्रलोभन देखाएर ठगी सुरु गरेकी थिइन्। उनले सर्लाहीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको नागरिकता र फोटो दुरुपयोग गरी आफ्नै नाममा राष्ट्रिय परिचयपत्र बनाएको खुलेको छ।
उक्त परिचयपत्रको आधारमा माछापुच्छ्रे बैंकमा खाता खोली नक्कली हस्ताक्षरमार्फत चेक प्रयोग गरेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। साथै उनले चन्द्रपुरका एक सुनचाँदी व्यवसायीबाट २ लाख ७४ हजार रुपैयाँ बराबरको गरगहना उधारो लिएर नतिरेको, एक व्यक्तिसँग घरायसी समस्या देखाएर ५ लाख रुपैयाँ सापटी लिएको तथा किराना पसल र गाडी भाडा बापत १ लाख २६ हजार रुपैयाँ ठगी गरेको खुलेको छ।
विश्वास दिलाउन उनले आफू प्रहरी भएको नक्कली परिचय दिने गरेको प्रहरीको भनाइ छ। उनलाई माघ ४ गते चन्द्रपुरबाट पक्राउ गरिए पनि लामो समयसम्म आफ्नो वास्तविक पहिचान लुकाएकी थिइन्।
डीएसपी का अनुसार विभिन्न कागजात र बैंक खाताको अनुसन्धानपछि मात्र उनको वास्तविक पहिचान खुलेको हो। हाल उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
