दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
सोमबार बिहान करिब साढे ८ बजे दाङको घोराही उपमहानगरपालिका–१६ सेवाखोलामा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु.प्र ०२–००१ प ११०२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी रेशम बोहराका अनुसार मोटरसाइकल अनियन्त्रित भई सेवाखोलामा निर्माणाधीन पुलबाट खसेको थियो। दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, जहाँ उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।
मृतकमध्ये एक जना तुलसीपुर र एक जना रोल्पाका रहेको खुलेको छ। यद्यपि उनीहरूको विस्तृत पहिचान खुल्न बाँकी रहेको र पहिचानको प्रयास जारी रहेको डिएसपी बोहराले जानकारी दिए।
