नवलपरासी पूर्वमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति कावासोती नगरपालिका–१४ अग्यौलीस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको हो।
गोडारबाट डण्डातर्फ जाँदै गरेको ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।
प्रहरीका अनुसार ठक्करपछि अनियन्त्रित बनेको ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको अर्को ग.प्र.०४–००२ प १८४७ नम्बरको मोटरसाइकलसँग समेत ठोक्किएको थियो।
दुर्घटनामा देवचुली नगरपालिका–१७ का २९ वर्षीय ओमप्रकाश खोजवार गम्भीर घाइते भएका थिए। उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा आइतबार राति २१ः४८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
