काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मामाथि कारबाहीको प्रक्रिया सुरु गरेको छ । शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा संलग्न भएपछि उनलाई सांसद पदबाट हटाउने तयारीसहित नेकपा अग्रसर भएको हो ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मालाई लिखित स्पष्टीकरण सोध्दै पत्र पठाएका छन् । माघ २२ गते २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिए पनि हालसम्म शर्माले कुनै जवाफ नदिएको पार्टी स्रोतले जनाएको छ ।
शर्मालाई पार्टी सदस्य र संसदीय दलको सदस्यबाट किन नहटाउने भन्ने विषयमा स्पष्टीकरण मागिएको हो । पार्टी निर्णयविपरीत गतिविधिमा संलग्न भएको आरोपसहित कारबाही प्रक्रिया अघि बढाइएको नेकपाले जनाएको छ ।
राजकुमार शर्मा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट रुकुम पश्चिम निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । पछिल्लो समय उनले अर्को राजनीतिक दलसँग सहकार्य बढाएपछि नेकपाभित्र विवाद उत्पन्न भएको हो ।
स्पष्टीकरण नआएमा पार्टी विधानअनुसार थप कारबाही अघि बढ्ने संकेत नेकपाले दिएको छ ।
